उत्तर कोरियाले दक्षिण कोरियामा हुन लागेको शीतकालिन ओलिम्पिक्समा दुईसय तीस जना चिअरलिडर अर्थात खेलाडीलाई हौस्याउनेहरुको टोली पठाउने प्रस्ताव गरेको छ।
उक्त प्रतियोगितामा बाजाबजाउन प्योंगयांगले एकसय चालिसजना वाद्यवादकहरु संलग्न एउटा वाद्य समूह, अर्केष्ट्रा, पठाउने बारे दुई कोरियाबीच यसअघि नै सहमति भैसकेको छ।
उत्तर कोरियाली अधिकारीहरु तथा पत्रकारहरु पनि सहभागी हुने भएका छन् जसबाट उत्तर कोरियाली प्रतिनिधिमण्डलको आकार झन ठूलो हुने भएको छ। उत्तर र दक्षिण कोरियाले आगामी महिना दक्षिणमा हुने शीतकालिन ओलिम्पिक्समा संयुक्त कोरियाको एउटै झण्डा मुनि संगसंगै मार्च गर्न सहमति जनाएका छन्।
आउंदो फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियाको प्युअंगचांग शीतकालिन ओलिम्पिक्स हुँदैछ। युद्धविराम गाउँ पाममुनजोममा भएको दुर्लभ वार्तापछि तिनीहरुले आइस हकी खेलको महिला तर्फको प्रतिस्पर्द्धामा संयुक्त टोली प्रस्तुत गर्ने सहमति पनि गरेका छन्।
दुई वर्ष यता दुई कोरियाबीच भएको यो पहिलो उच्चस्तरीय वार्ता हो। दक्षिण कोरियाका हकी प्रशिक्षक र पुरातनवादी समाचारपत्रहरुले संयुक्त हकी टोली प्रस्तुत गर्ने निर्णयप्रति चिन्ता व्यक्त गर्दै त्यस्तो टोलीले पदक जित्न सक्ने दक्षिण कोरियाको अवसरमा नोक्शान पुग्ने बताएका छन्।
Leave a reply