दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले तीन महिनाभित्र सबै सरकारी विद्यालयमा सीसीटीभी जडान गरिने बताएका हुन्। उनले उक्त कदमले विद्यालयहरूलाई पारदर्शी र जवाफदेही बनाउने आफ्नो आशा रहेको बताए।
त्यसरी सीसीटीभी जडान गरिनुमा बालबालिका सुरक्षित हुन् भन्ने आशय पनि रहेको बताइएको छ। सन् २०१७ को सेप्टेम्बरमा एक विद्यालयको बाथरूममा एकजना बालक घाँटी काटिएको अवस्थामा फेला परेका थिए।
दिल्लीबाट ३२ किलोमिटरको दुरीमा रहेको गुरगाउँस्थित रायन अन्तर्राष्ट्रिय विद्यालयमा उक्त घातक हमला भएको थियो। त्यसको केही दिनपछि राजधानीकै पूर्वमा रहेको एक विद्यालयमा एक पाँच वर्षीया बालिका पनि बलात्कृत भएकी थिइन्।
मुख्यमन्त्री केजरीवालको यो घोषणालाई केही अभिभावकहरूले स्वागत गरेका छन् भने केहीले हास्यास्पद भनेका छन्। त्यस्तै केहीले चाहिँ निगरानीपूर्ण समाज बनाउन लागेको संकेत भएको बताएका छन्।
एकजना आलोचकले ट्वीटरमा उक्त निर्णयबारे सचेत गराउँदै कक्षाकोठामा के भइरहेको छ भन्नेबारे लाइभ भिडियोबाट जाँच गर्दा बालबालिकामाथि एकदमै धेरै निगरानी गरेको देखिने र त्यसले अपराध हुन नदिने मात्रै नभइ बालबालिकाको नैतिक व्यवहार र आचरणलाई पनि नियन्त्रण गर्ने बताएका छन्।
No comments:
Post a Comment